काठमाडौं। नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गरिने भएको छ । हवाई इन्धन डिपो सिनामंगलबाट गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सारिने भएको हो ।
डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको कन्सल्टेन्सी सेवालाई दिइएको थियो ।
५ मंसिर २०८१ मा भएको सम्झौता अनुसार तयार पारिएको डीपीआर कन्सल्टेन्सी सेवाले निगमलाई हस्तान्तरण गरेको छ ।
नयाँ डिपो पूर्णरूपमा स्वचालित एल३ स्तरको अटोमेसनयुक्त हुनेछ । प्रस्तावित योजना अनुसार हाललाई ३ हजार किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्यांकी निर्माण गरिने छ भने भविष्यमा भण्डारण क्षमता थप गर्न पर्याप्त खाली स्थानको समेत व्यवस्था गरिने छ ।
डिपोको निर्माण लागत ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ अनुमान गरिएको छ ।