काठमाडौं । २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने आयोजनाको लागि कुमारी बैङ्क लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैङ्क लिमिटेडको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो ।
शुक्रवार एक विशेष समारोहकाबीच कुमारी बैङ्क र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ ।
आयोजनामा माछापुच्छ्रे बैङ्क, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, प्रभु बैङ्क, नेपाल एसबिआई बैङ्क, एनआइसी एशिया बैङ्क, कृषि विकास बैङ्क, लुम्बिनी विकास बैङ्क, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क, कामना सेवा विकास बैङ्क र आइसिएफसि फाइनान्सले लगानी गर्ने भएका छन् ।
करिब रू ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजिको अनुपातमा अघि बढाइने छ । आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा चार दशमलव पाँच घण्टाको पिकिङ्ग क्षमता रहनेछ । आयोजनाको डिजाइन डिस्चार्ज ३४ दशमलव एक घन मिटर प्रति सेकेन्ड रहेको छ भने ग्रस हेड ७५८ दशमलव नौ मिटर र नेट हेड ७३५ दशमलव छ मिटर रहेको छ ।