काठमाडौं । बाढीका कारण निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा करोडौंको क्षति पुगेको छ । आइतवारको वर्षापछि लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ र ७ भएर बग्ने ङादी खोलामा आएको बाढीले बगाउँदा आयोजनामा ८० करोड बराबरको क्षति पुगेको हो ।
बाढीले आयोजनाको हेडबक्स, पावरहाउस, पहुँचमार्ग, क्रसर उद्योगलगायतमा क्षति पुर्याएको छ । हेडबक्सका चार वटा मिक्चर, तीन वटा एक्साभेटर, तीन हजार पाँच सय बोरा सिमेन्ट, ७० टन डण्डी, डिजल जेनेरेटर, कम्प्रेसर मेसिन र क्रसर उद्योगमा बाढीले पूर्णरूपमा क्षति पुर्याएको छ । यसैगरी हेडबक्स पुग्ने २० किलोमिटर पहुँच मार्गमा १५ ठाउँमा पहिरोले क्षति पुर्याएको छ भने पेनस्टक पाइप र भर्टिकल पेनस्टक एरियामा ठुलो पहिरो गएको छ ।
बाढीले पावरहाउस क्षेत्रमा स्टोर गरिएको सात हजार बोरा सिमेन्ट र एक सय ५० टन डण्डी समेत बगाएको छ । बाढीले आयोजनासम्म पुग्ने पहुँचमार्गमा समेत पूर्ण रुपमा क्षति पुर्याएको छ । पावर हाउस क्षेत्रबाट टेमरक मेसिन, डिजल जेनेरेटर तीन वटा, कम्प्रेसर मेसिन दुई वटा, स्टोर भवन तीन वटा पूर्णरूपमा क्षति भएको छ । बाढीले दुईवटा बलेरो जीप, एउटा एक्साभेटर र एउटा टिप्पर बगाएको छ । बाढीले पैदल हिँड्नका लागि बनाएको पुल र वर्कसप पनि बगाएको छ । आयोजनाको निर्माण कार्य करिब ७७ प्रतिशत काम सम्पन्न भएको थियो । बाढीले क्षति पुर्याउँदा आयोजना निर्माणको अवधि समेत पछि धकेलिएको छ ।