काठमाडौं । पोखरा महानगरपालिकाले पाँच वर्षे प्रथम नगर उर्जा योजना सार्वजनिक गरेको छ । आज एक कार्यक्रमबीच पोखरा महानगरप्रमुख धनराज आचार्यले नगर उर्जा योजना सार्वजनिक गरेका हुन् ।
कुल रु एक अर्ब ३३ करोड ३० लाख ८२ हजार को अनुमानित लागत रहेको यस योजनाले “समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा”को दीर्घकालीन परिकल्पना गरेको छ । योजनाले प्राथमिकताका रूपमा घरायसीस्तरमा स्वच्छ, प्रभावकारी तथा नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धि, परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई राखेको छ ।
ऊर्जा विकास उप–समितिद्वारा तयार पारिएको उक्त योजना जिआइजेड नेपालको रिप ग्रिन कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार पारिएको हो ।
योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको र यस योजनालाई गत फागुनमा पोखरा महानगरले औपचारिक रूपमा अनुमोदन गरेको थियो ।
व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण, नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धिलाई प्रथमिकतामा राखेको छ ।
पाँच वर्षे यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।