काठमाडौं। एक महिले रानीपोखरी सरसफाइ अभियान शुरु भएको छ। विश्व सरसफाइ अभियन्ताहरुले पुष ४ देखि माघ ४ गतेसम्म रानीपोखरी सरसफाइ अभियान शुरु गरेका हुन्।
रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेका छन्।
विश्व सरसफाइ अभियन्ता राजमान मानवले २०१५ सालमा महानगरपालिका बनेदेखि काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिए पनि त्यो अनुसारको काम नभएको भन्दै काठमाडौं उपत्यका सफाइ अभियान समूहको समन्वयमा रानीपोखरी वरपरका क्षेत्रहरु सफा गर्न थालेको बताए।
अभियन्ता मानवले बिहान ६ देखि ९ बजे, ११ देखि ४ बजेसम्म र राति ८ देखि ११ बजेसम्म गरी दिनमा तीन पटक ‘फोहोर नगरौँ’ भन्ने नारासहित एक महिने अभियान शुरु गरेको बताए।
काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ। केही साना संरचनाको निर्माण्को काम सम्पन्न भएपछि छिट्टै खुल्ला गर्ने बताइएको छ।