हेटौंडा । बाढीका कारण क्षतिग्रस्त २२ मेगावाट क्षमताको माण्डु हाइड्रोपावरको पुनर्निर्माणपछि पुनः विद्युत् उत्पादन सुरु भएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षावपछ बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको आयोजनाको पुनर्निर्माणको कार्य सकेर मंगलवारदेखि पुनः विद्युत् उत्पादन सुरु गरेको हो ।
अहिले पहिलो चरणमा आयोजनाबाट क्षमताको ५० प्रतिशत अर्थात ११ मेगावाट मात्र विद्युत् उत्पादन गरिएको छ ।
बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको हाइड्रोपावरको पुनर्निर्माण कार्य गत मंसिर महिनादेखि सुरु गरिएको थियो । नेपाली प्राविधिक र कामदारहरू सम्मिलित टोलीले हाइड्रोपावरको प्राविधिक एवम् भौतिक कार्यहरू गरेका थिए । पुनर्निर्माण कार्यमा नेपाली प्राविधिक र कामदार गरेर सरदर दैनिक ६० जना भन्दा बढी खटिएका थिए ।
मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८, बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको माण्डु हाइड्रोपावरको बागमती खोलाको बाढी र पहिरोले हेडवक्र्स, पावर हाउस, पेनेस्टक पाइप, विद्युत्को टावर क्षतिग्रस्त बनाएको थियो । २०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको हाइड्रोपावरलाई बागमतीको बाढीले करिब १ अर्बभन्दा बढी क्षति पुर्याएको थियो ।