सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा निमार्णाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट पानी चुहिएर बस्ती जोखिममा परेको भन्दै स्थानीयले आयोजनाको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रभावित स्थानीय, क्लब, वन समितिलगायतले आयोजनाका अधिकारीसँग जोखिमबारे ध्यानार्कषण गराएका हुन् ।
स्थानीयको माग सम्बोधन नगरी आयोजनाले जर्बजस्ती विद्युत् उत्पादन गर्न खोजेमा आयोजनामा तालाबन्दी गर्ने स्थानीयले चेतावनी दिएका छन् ।
बाह्रबिसे–५ मा पावरहाउस र भोटेकोशी गाउँपालिका–५ चाकुमा बाँधस्थल निर्माण भइरहेको छ । हाल विद्युत् उत्पादन गर्ने तयारीमा जुटेको बहुप्रतीक्षित आयोजनाको बोर्डरल्यान्डस्थित मुख्य सुरुङ र संरचनाबाहिरका सबैजसो भूभागबाट पानी चुहावट भएर जथाभावी खोलो बग्दा बस्ती नै क्रमशः भास्सिँदै जान थालेको प्रभावित बासिन्दाको भनाइ छ ।
विज्ञ र विशेषज्ञद्धारा निरीक्षण गरेर सुरुङ मर्मतसम्भार गरिनुपर्ने, मानव, जग्गा, जमिन र घरसम्पत्तिको ९क० वर्गको बिमा हुनुपर्ने, वडालाई सामुदायिक उत्तरदायित्वका बजेट उपलब्ध गराउनुपर्नेजस्ता माग स्थानीयले राखेका छन् ।