काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले लोडसेडिङ नेपालको विगत भएको भन्दै यसको पुनरावृद्धि सम्भव नहुने बताएका हुन् ।
उनले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताकासाथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने दाबी समेत गरेका छन् ।
‘नेपालले विद्युत् उत्पादन र बिक्री वितरणमा गरेको उपलब्धिका आधारमा स्पष्ट रूपमा भन्न सकिन्छ, लोडसेडिङ अब नेपालको विगतको विषय भइसक्यो,’ ऊर्जामन्त्री खड्काले भने, ‘यसको पुनरावृद्धि कुनै सम्भावना देखिँदैन । अब, लोडसेडिङको कल्पना गर्नु पनि निरर्थक भइसकेको छ । मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पटक–पटक सार्वजनिक रूपमा स्पष्ट गरिरहेको छ, की हाल देशमा लोडसेडिङ छैन ।’
मन्त्री खड्काले छिमेकी मुलुकमा विद्युत् निर्यात बढाउन दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गरी कार्य गर्नुपर्ने आवश्यकता औंँल्याए । देशभर हाल नियमित विद्युत् आपूर्ति भइसकेको र कतिपय स्थानमा देखिएका अस्थायी अवरोध प्रणालीगत सुधारमार्फत समाधान हुँदै आएको उनले उल्लेख गरे।