सिन्धुपाल्चोक। जिल्लाको बाह्रबिसे नगरपालिकामा निर्माणको तयारीमा रहेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजनाले सार्वजनिक सुनुवाइ गरेको छ ।
सोमबार बाह्रबिसे नगरपालिकाको कर्भडहलमा बाह्रबिसे–३ ,४ ,५ ,८ ,९ र त्रिपुरासुन्दरी गाउँपालिका ३ का प्रभावितलाई जम्मा पारेर आयोजनाले सार्वजनिक सुनुवाइ गरेको हो ।
स्थानीयको माग र गुनासो सम्बोधन गरेर सुनुवाइ सकेर बल्ल आयोजना अघि बढेको आयोजनाले जनाएको छ ।
१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्कने पानीमै टनेल हालेर नयाँ आयोजना बनाउन लागिएकामा यसअघि स्थानीयले वातावरणीय असर पर्ने भन्दै स्थानीयले विरोध जनाएर सडकमा उत्रिएका थिए ।
आयोजनाको सुरुवाती बिन्दु भोटेकोशी ५ स्वीचयार्ड, स्वीचयार्डबाट करिब ३ दशमलव ४७ किलोमिटरको दुरीमा रहेको प्रस्तावित सुनकोशी हब पुलिङ स्टेसनसम्म हुने भएको छ ।
सुनकोशी हब पुलिङ स्टेसनबाट करिब १ दशमलव ३ किलोमिटरको दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको बाह्रबिसे सबस्टेसन सम्म ४०० केभी डबल सर्किट प्रसारण लाइन अन्तिम बिन्दु रहनेछ ।
नदीको पानी सुरुङमार्फत प्रयोग गर्दा वातावरणीय सन्तुलन बिग्रन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
सुनुवाइमा पनि बाह्रबिसे बजार, मानेश्वारा, राम्चेलगायत क्षेत्रका स्थानीयले आफ्नो माग सम्बोधन नगरे आयोजनालाई अघि बढ्न नदिने चेतावनी दिएका छन् ।