काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा नयाँ पेट्रोलियम भण्डारण डिपो बनाउने भएको छ । काठमाडौं विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले आज निगमलाई डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) हस्तान्तरण गरेको हो ।
करिब साढे २५ बिघा क्षेत्रफलमा कुल रु पाँच अर्ब ७९ करोड ३० लाख लागतमा डिपो निर्माण गरिनेछ । डिपोमा कुल १८ हजार छ सय ८८ किलोलिटर इन्धन भण्डारण गर्न ट्याङ्क निर्माण गरिने निगमले जनाएको छ। जसअन्तर्गत डिजेल भण्डारण गर्न १३ हजार पाँच सय किलोलिटर, पेट्रोलका लागि चार हजार नौ सय ६० किलोलिटर र मट्टितेलका लागि दुई सय २८ किलोलिटर क्षमताका भण्डारण ट्याङ्क निर्माण गरिनेछ । नयाँ बन्ने भण्डारण गृहले लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने छ ।
डिपोभित्र अग्नि सुरक्षा प्रणालीका लागि २१ सय किलोलिटर क्षमताको दुई वटा पानी ट्यांकी निर्माण हुनेछन् । जसमा कूल चार हजार दुई सय किलोलिटर पानी भण्डारण हुनेछ । इन्धन लोडिङ सेडमा आठ वटा ’वे’ र अनलोडिङ सेडमा पनि आठ वटा ‘वे’ निर्माण हुनेछ ।
पूर्ण रुपले अटोमेसनमा आधारित डिपोमा भण्डारण गृह, पेट्रोलियम पदार्थको प्रवाह तथा फायर फाइटिङ प्रणालीको पाइपिङ निर्माण, विद्युतीय कार्य, प्रशासनिक भवन, कन्ट्रोल भवन, प्रयोगशाला भवन, बिलिङ तथा स्टोर भवन, कार्यालय प्रमुख तथा कर्मचारी आवास गृहलगायत संरचना निर्माण गरिने निगमले जनाएको छ ।