काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनको डिपिआर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अमलेखगञ्जबाट लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने पेट्रोलियम पाइप लाइनको डिपिआर अन्तिम चरणमा पुगेकाले केही दिनमै विस्तार कार्य सुरु हुने भएको छ ।
डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेर पाइप लाइनको काम अघि बढाउन चितवनमा कार्यालयसमेत स्थापना भइसकेको छ । अबको केही दिनभित्रै माटो सम्याउने कार्य पनि सुरु हुने बताइएको छ । काम सुरु भएको तीन वर्षभित्र काम सकिने लक्ष्य रहेको छ ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइप लाइनको काम सकिएर पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात सुरु भएपछि अमलेखगञ्जबाट लोथरसम्म पाइप लाइनको काम सुरु गर्न लागिएको हो ।
चितवनको लोथरमा कुल २३ बिघा १२ कठ्ठा जग्गामा ग्रिनफिल्डसहितको एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नसक्ने टनेल निर्माण गरिने छ । नेपाल–भारतबीच ‘जिटुजी’ सम्झौता मार्फत निर्माण हुन लागेको अमलेखगञ्ज–लोथर पाइप लाइन विस्तारको काम भारतीय आयल निगमले गर्नेछ ।