सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई ‘ऊर्जाको राजधानी’ बनाउनुपर्ने बताए । खाँदबारी नगरपालिकाले आयोजना गरेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा मन्त्री खड्काले संखुवासभालाई भौगोलिक सुन्दरताको पहिचान मात्र नभई ‘ऊर्जाको राजधानी’ बनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले अपर अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको प्रत्यक्ष सहभागितामा अघि बढाइने योजना रहेको समेत जानकारी दिए । मन्त्री खड्काका अनुसार जिल्लाका करिब ४० हजार घरपरिवारलाई प्रतिघर रु पाँच लाखका दरले सेयर उपलब्ध गराइने जानकारी दिए । आयोजना निर्माण ५० प्रतिशत पुगेपछि सेयर निष्कासन सुरु गर्ने तयारी गरिएको उनले बताए ।
“यो आयोजना बिजुली उत्पादनमा मात्र सीमित छैन, यसले यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउन ठूलो योगदान गर्नेछ”, उनले भने। विपन्न वर्गलाई समेत सहभागी गराउने उद्देश्यसहित करिब १२ देखि १५ प्रतिशत नागरिकलाई बैंकमार्फत निःशुल्क ऋण उपलब्ध गराइने उनले बताए।