काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित “नेपालको ऊर्जा राज्यशिल्प र जलविद्युत् परिदृश्यः रणनीतिक प्राथमिकता, चुनौती र सम्भावना” विषयक राष्ट्रिय ऊर्जा संवादलाई सम्बोधन गर्दै उनले ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे ।
अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापनापछि बनेको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताए ।
“हामीले त्यसबेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ,” उनले भने ।
कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा तथा समस्याको समाधानका लागि नीति कार्यक्रम ल्याइएको पनि उनले स्मरण गरे । ऊर्जा र कृषिसँगै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र सूर्यको खेतीबाट अर्को पूर्व–पश्चिम राजमार्ग निर्माणजस्ता योजना त्यही भिजनका हिस्सा भएको अध्यक्ष प्रचण्डले बताए।