काठमाडौं । नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापना गर्नका लागि नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जी–फिलोस कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाबारे विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने सम्झौतापत्रमा लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जी–फिलोस कम्पनी लिमिटेडका तर्फबाट सीईओ गा वु पार्कले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार प्रस्तावक कम्पनी जी–फिलोसले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिनाभित्र लगानी बोर्डको कार्यालयमा पेस गर्ने छ ।
हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको बताए ।
यस्ता परियोजना नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्य प्राप्तिमा कोशेढुंगा सावित हुने तथा नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास राजदूत योङले व्यक्त गरे ।