ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले राष्ट्रिय प्रसारण ग्रीड प्रत्येक स्थानीय तहसम्म पुर्याउने अभियान प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको ललितपुरमा आयोजित आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खड्काले सरकारले राष्ट्रिय प्रसारण ग्रीडलाई प्रत्येक स्थानीय तहसम्म पुर्याउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताएका हुन् ।
उनले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको तथा त्यसतर्फ सरकार तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए। लघु तथा साना जलविद्युत्लाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य रहेको समेत उनले बताएका छन् ।
“देशका कुना–कन्दरासम्म, अप्ठेरा र दुर्गम भूगोलमा बिजुली पुर्याउने काम असाधारण उपलब्धि हो, यसका लागि यस समाजले खेलेको भूमिका र गतिविधि प्रशंसा योग्य छन्, हाल देशभर करिब दुई हजार सङ्घसंस्था तथा व्यक्ति संलग्न रही ४० मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन भइरहेको अवस्था छ, यो सराहनीय काम हो,” उनले भने ।