काठमाडौं। बागमति प्रदेश अन्तर्गतको नुवाकोटको विदुर नगरपालिका–८ मा भैरमकोट पदमार्ग निर्माण गरिने भएको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा सो पदमार्ग निर्माण गर्न लागिएको हो।
करिब ७० लाख लागतमा करिब ४०० मिटर पदमार्ग निर्माण गर्न लागिएको कार्यलय प्रमुख सञ्जय पाण्डेले जानकारी दिएका छन्। भैरमकोट पदमार्ग निर्माण भएपछि त्यहाँका स्थानीय जनता र पर्यटकहरुलाई आवतजावतमा सुविधा पुग्ने प्रमुख पाण्डेले जानकारी दिएका छन्। उक्त स्थानमा सिढीसहितको पदमार्ग निर्माण गर्न लागिएको उनले जानकारी दिएका छन्। सो पदमार्ग पर्यटन प्रवद्र्धनको लागि निर्माण गर्न लागिएको उनको भनाई छ।
सो पदमार्ग निर्माणसँगै पाटी पनि निर्माण गर्ने योजना रहेको कार्यलय प्रमुख पाण्डेले जानकारी दिएका छन्। उनले पाटी निर्माण भएपछि पानी पर्दा त्यस क्षेत्रको अवलोकन भ्रमणमा जाने पर्यटकहरुका लागि सहज हुने बताउँदै यसबाट गाउँमा नै उत्पादन भएका उत्पादकीय बस्तुहरु विक्रि वितरण पनि हुने जनाएका छन्। भैरमकोट ऐतिहासिक स्थल पनि भएकाले त्यस क्षेत्रको अवलोकनको लागि पर्यटकहरु जाने भएकाले उनिहरुलाई सुविधा प्रदान गर्ने उद्देश्यले सिढी सहितको पदमार्ग निर्माण गर्न लागिएको उनले जनाएका छन्।
यसैगरी प्राचिन समयमा सो स्थानमा पृथ्वी नारायण शाह नुवाकोट दरबारमा हमला गर्नु पूर्व बास बसेको स्थानीयहरुले सुनाउने गरेको उनको भनाइ छ। यसैगरी सो स्थानमा पृथ्वी नारायण शाह र उनका सेनाहरु बसेको कोत पनि रहेको उनले बताएका छन्। त्यत्तिबेलाको कोतको पुरानो वाल तथा त्यस परिसरमा रहेको कुवाको केही भग्नावषेश अहिलेसम्म रहेको उनको भनाइ छ। साथै पहिले सो कुवाको पानी त्यहाँका स्थानीयले खाने गरेको गाउँलेहरुले जानकारी दिएको उनले बताएका छन्। उक्त ऐतिहासिक कोतको संरक्षणको लागि पनि पदमार्ग निर्माणको योजनालाई अघि बढाएको र यसवाट सो क्षेत्रको इतिहास अवलोकन गर्न आउने पर्यटकको सङख्या बृद्धि हुन सक्ने उनको विश्वास रहेको छ।
उक्त पदमार्ग निर्माणको जिम्मा पौडेल निर्माण सेवाले पाएको र हाल ठेक्का सम्झौताको चरणमा रहेको उनले बताएका छन्। यसैगरी ठेक्का सम्झौताको चरण सकिएपछि पुषको अन्तिम तिरबाट निर्माण कार्य सुरु गर्ने योजना रहेको उनले जानकारी दिएका छन्। आगामी असार १५ भित्रमा पदमार्ग निर्माण कार्य सकिसक्नु पर्ने गरी योजनालाई अघि बढाइएको कार्यलय प्रमुख पाण्डेले बताएका छन्।