काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले धितोपत्र बोर्ड नेपाल (सेबन) ले शेयर निष्काशन गर्न ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र रु एक खर्ब आठ अर्ब ५० करोड गुमाएको दाबी गरेको छ ।
२०८० जेठपछि आईपीओ र राइट शेयर निष्काशनमा ढिलाइ गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका ४३ वटा आईपीओ र ७ राइट शेयर गरी ५० कम्पनीले निर्माण अघि बढाउन नसकेको इप्पानको दाबी छ ।
सेबनलाई पठाएको पत्रमा गरी ५० कम्पनीको समयमै शेयर जारी नहुँदा २३ अर्ब २७ करोड आठ लाख बराबरको निष्काशन हुन नसकेको तथा समयमै जारी नभएको कारण १२ अर्ब ४० करोड ५४ लाखको ब्याज रकम बढेको, २४ अर्ब ३० करोड ६७ लाख लागत बढेको र ७१ अर्ब ७८ करोड ८१ लाख राजस्व आम्दानी गुमाउनु परेको उल्लेख छ ।
सेबनमा अध्यक्ष नियुक्ति नभएको तथा कुनै पनि कानुनमा नभएको शेयर निष्काशनका लागि ९० प्रतिशतभन्दा बढी नेटवर्थ हुनुपर्ने लगायतका कारण देखाउँदै सेबनले शेयर निष्काशनमा ढिलाइ गर्दै आएको इप्पानको भनाइ छ । इप्पानले यस अवधिमा १० कम्पनीलाई मात्र आईपीओका लागि सेबनले अनुमति दिएको छ भने ११ कम्पनीलाई राइट शेयरका लागि अनुमति दिएको जानकारी गराएको छ ।
इप्पान अध्यक्ष गणेश कार्कीले आईपीओको लागि आवेदन दिएर कुरिरहेको र आवेदकबाट हटाइएका लागि पुनः सहभागी गराई ती कम्पनीको तुरुन्तै आईपीओ जारी गर्न तथा उत्पादनपछिको आईपीओ निष्काशन गर्नुपर्ने बताए । आयोजनाको निर्माणमा धेरै ठूलो रकम लगानी चाहिने तथा धितोपत्र निष्काशनसम्बन्धी नियमावलीले ६० प्रतिशत निर्माण पूरा भएपछि आइपीओको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।