काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई काम गर्ने अवसर समेत नदिएर हटाएको बताएका छन् । शाक्यले आफू प्राधिकरणमा दुई पटक नियुक्ति भएको तर दुवै पटक काम गर्ने अवसर नपाएको गुनासो गरेका हुन् ।
उनले आफ्नो विशेषताअनुसार आयोगमा सरुवा गराएको भए आफूले पनि सरकारलाई सहयोग गर्ने तर प्रतिसोध साँधेको हो भने त्यहि अनुसार अघि बढ्ने बताएका छन् ।
शाक्यले भने,– ‘मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो । म त्यही अनुसार सरकारलाई आयोगमा बसेर सहयोग गर्छु । तर, प्रतिसोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु । म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ । तर, काम गर्ने अवसर समेत नदिई हटाइयो ।’
शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो ।