काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आफ्नो पहिलो प्राथमिकता डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनु रहेको बताएका छन् । मंगलवार पदभार ग्रहण गर्दै नवनियुक्त कार्यकारी निर्देशक सिलवालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले तत्कालीन ऊर्जामन्त्री दिपक खड्काले प्राधिकरणका १०औँ तहदेखिका कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवाको अधिकार कार्यकारी निर्देशकबाट खोसेको भन्दै उक्त निर्णयलाई पुनरावलोकन गरी कर्मचारीको सरुवा, बढुवा र काजमा खटाउने अधिकार कार्यकारी निर्देशकलाई गर्ने निर्णयमा हस्ताक्षर गरेको समेत जानकारी गराए । उनले दसैँ र तिहार नजिक आएकाले त्यसलाई फोकस गरेर काम गर्ने बताएका छन्।
जेनजी आन्दोलनपछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले गत आइतबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेका हुन्।