काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माण स्थगित गर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाले विकास कार्यप्रति प्रदेश सरकार उदासिन भएको भन्दै सुरुङमार्ग निर्माण कार्य स्थगित गर्नु दुर्भाग्यपूर्ण भएको बताए।
उनले बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएता पनि राजधानीको निम्ति आवश्यक शिक्षा, स्वास्थ्य, यातायात, शहरी विकास लगायतका पूर्वाधार विकासमा प्रदेश सरकारको उदासिनता उदेकलाग्दो रहेको उल्लेख गरेका छन्।
बागमती प्रदेश सरकारले बजेट अभाव भएको भन्दै योजना स्थगित गरेपछि थापाले आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएता पनि राजधानीको निम्ति आवश्यक शिक्षा,स्वास्थ्य, यातायात,शहरी विकास लगायतका पूर्वाधार विकासमा प्रदेश सरकारको उदासिनता उदेकलाग्दो छ।काठमाडौं जोडने सुरुङमार्ग निर्माण स्थगितगर्ने प्रदेश सरकारको निर्णय दुर्भाग्यपूर्ण छ।यसतर्फ सबैको ध्यान जाओस्।’
डोरमणि पौडेल मुख्यमन्त्री भएका बेला प्रदेश सरकारले सुरुङमार्गका लागि ५० करोड बजेट छुटाएको थियो। उनले केन्द्र सरकारको सहयोगमा सुरुङमार्ग सम्पन्न गर्ने योजना समेत बनाएका थिए।
बागमती प्रदेशमा मुख्यमन्त्री बनेपछि राजेन्द्र पाण्डेले प्रदेश सरकारसँग बजेट नभएको भन्दै हेटौंडा–काठमाडौं सुरुङमार्ग स्थगित गरेका थिए ।