रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत् उत्पादन प्रभावित भएको हो ।
पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट १६ मेगावाट, १४ दशमलव आठ मेगावाट क्षमताको ‘अप्पर साङ्जेन’बाट छ मेगावाट, ४२ दशमलव पाँच मेगावाटको ‘लोवर स्याङ्जेन’बाट ३० मेगावाट र ७८ मेगावाट क्षमताको सालासुङ्गीबाट पाँच मेगावाट क्षमता मात्र विद्युत् उत्पादन हुने गरेको सम्बन्धित आयोजनाबाट जानकारी प्राप्त भएको छ ।
चिसोका कारण विद्युत् उत्पादनमा भारी कटौती हुने गरेको जानकारी दिँदै सालासुङ्गी हाइड्रो पावरमा कार्यरत इञ्जिनियर राजु श्रेष्ठले भने, “अत्यधिक चिसोका कारण अहिले खोलामा पानीको सतह घटेको छ । पानीको बहाव घटेसँगै क्षमताभन्दा न्यून विद्युत् उत्पादन गर्न बाध्य छौँ । चैतपछि हिउँ पग्लिने दर वृद्धि भई खोलामा पानीको बहाव बढ्न थाल्छ ।’