बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिका विगत ४ महिनादेखि अन्धकारमय बनेको छ। यहाँका अधिकांश गाउँबस्ती यतिवेला विद्युत सेवाबाट प्रभावित बनेका छन्।
गत साउन २८ गते राति बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजलविद्युतको नहर बगेपछि यहाँका अधिकांश गाउँबस्ती अन्धकार बनेका हुन् ।
विच्छ्या खोलामा आएको बाढीले विद्युत नहरसँगै स्थानीयका घरजग्गा बगाएर करोडौंको क्षति भएको थियो। बाढीबाट प्रभावितले अहिलेसम्म राहत पाउन सकेका छैनन्। जाडो महिनामा पनि पाल टाँगेर बस्नुपर्ने बाध्यतामा छन् । २०७८ फागुनमा कवाडी लघुजलविद्युत् परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरेर यहाँका एक हजार एक सय घरधुरीमा विद्युत सेवा उपलब्ध गराएको थियो ।
नहर भत्किएपश्चात् यी सबै घरधुरी विद्युत सेवाबाट बञ्चित भएका छन्। बाढीले खानेपानी, सडक र अन्य भौतिक पूर्वाधार समेत भत्किएका थिए । पालिकाले दुई महिनामा त्यसैलाई पुनः मर्मत गरेर स्थानीयलाई सहज गर्दै आएको भएपनि बत्ती बाल्न भने सकेको छैन्।भत्किएको नहर निर्माण गरेर बत्ती सञ्चालन गर्न ठूलो रकमको आवश्यक हुँदा विद्युत प्रवाह गर्न नसकिएको गाउँपालिकाले जनाएको छ।
पालिकाको बजेटले विद्युत आपुर्ति गर्न नसकिने हुँदा गत असार अन्तमिदेखि हालसम्म विद्युत सेवा सञ्चालन गर्न नसकिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए । भत्केको नहर निर्माणका लागि आफूले विभिन्न निकायसँग समन्वय, सहकार्य गरेको भए पनि काम हुन नसकेको उनले जानकारी दिए।