डोटी। हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भीमदत्त राजमार्ग पुन: सञ्चालनमा आएको छ। डोजरले हिउँ पन्छाएपछि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो।
सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए ।
राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेको प्रहरीले जनाएको छ।