काठमाडौं। उदयपुर, भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने सुनकोसी नदीमा दुई वटा पक्की पुल निर्माण कार्यको सिलान्यास भएको चार वर्ष बितिसक्दा पनि हालसम्म निर्माण कार्यले गति लिन सकेको छैन। यी तिन जिल्लालाई सडक सञ्जालसँग जोड्ने लक्ष्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ भदौ ३१ गते उदयपुरको रानीटार र धाप्लांगघाटस्थित सुनकोसी नदीमा एकै दिन दुई वटा पुलको शिलन्यास गरेका थिए।
पुल निर्माण सुरु भएको चार वर्ष बितिसक्दा ५ प्रतिशत कामसमेत हुन सकेको छैन। करिव २३ करोड रुपैयाँको लागतमा २०७६ सालको असार मसान्तसम्ममा निर्माण कार्य सक्ने गर्ने गरी ठेक्का लिएको रसुवा/एसएनएस/पप्पु ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले रानीटारमा तीन वर्षअघि एउटा खाडल खन्नेबाहेक कुनै काम नगरेको स्थानीयको भनाइ छ। उदयपुरको रानीटार र भोजपुरको आमचोक गाउँपालिका जोड्ने गरी सिलान्यास गरिएको उक्त पुल सिलान्यासमै सीमित भएपछि भोजपुरका नागरिकले सास्ती खेप्दै आएका छन्।
त्यसैगरी धाप्लांगघाटको पुलको अवस्था पनि त्यस्तै छ। सो स्थानमा पनि एउटा पिल्लर उठाउनेबाहेक अरु काम हुन सकेको छैन। सरकारले वार्षिक रकम विनियोजन नगरेका कारण पुल निर्माण हुन नसकेको निर्माण कम्पनीले बताउँदै आएका छन्। पूल अभावकै कारण सिधा यातायात सञ्चालन हुन नसक्दा सामान ढुवानी र आवतजावतमा चर्को मूल्य तिनुपर्ने स्थानीयको गुनासो रहेको छ। यसैगरी पुल निर्माण नहुँदा त्यस क्षेत्रमा अन्य विकास निर्माणको काममा पनि प्रभाव परेको छ।