काठमाडौं। बाँके र बर्दियामा पाँचवटा निर्वाचन क्षेत्र रणनीतिक सडक बन्ने भएका छन्। तीमध्येका बाँके क्षेत्र नं. ३ को गणेशमान चोक–गौघाट–परसपुर सडक र बर्दिया २ को घोरपिट्टा–बनियाभार सडकको टेण्डर भएर सम्झौताको तयारीमा छन् भने बाँकी तीनवटा सडक टेण्डर प्रकृयामा रहेका छन्। केपी ओली नेतृत्वको सरकारले गत वर्ष शिलान्यास गरेका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा निर्माण हुने बहुवर्षीय सडकको बल्ल निर्माण प्रकृया सुरु गरिएको हो।
निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत बाँके र बर्दियामा १ अर्ब ५५ करोड बजेटमा ती बहुवर्षीय सडक निर्माण हुने भएका हुन्। उक्त योजनाअन्तर्गत बाँके क्षेत्र नं. १ को अगैयादेखि नरैनापुर जोड्ने १६ किलोमिटर सडकखण्डको १० किलोमिटर पक्कि सडक, क्षेत्र नं. २ मा डुडुवादेखि राँझा एयरपोर्ट जोड्ने १० किलोमिटर सडक र क्षेत्र नं. ३ को गणेशमानचोक–गौघाट–परसपुर १० किलोमिटर सडक निर्माण सुरु गरिएको हो। यी तीनवटै सडक खण्डका लागि २५/२५ करोड बजेट बिनियोजन भएको छ। यसैगरी बर्दियाको क्षेत्र नं. १ मा पञ्चबजार–फुटाहा–जमुनी सडक र क्षेत्र नम्बर २ मा घोरपिट्टा–बनियाभार सडक निर्माण हुने भएका छन्। यी दुवै सडक निर्माणका लागि ४०/४० करोड बजेट बिनियोजन भएको छ।
निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण तथा सञ्चालन मापदण्ड २०७७ अनुसार बढीमा तीन वर्षभित्र सम्पन्न हुनेगरी एउटा निर्वाचन क्षेत्रमात्रै भएको जिल्लामा प्रतियोजना ६० करोड, दुई वटा क्षेत्र भएको जिल्लामा ४० करोड र तीन वटा क्षेत्र भएका जिल्लामा प्रतियोजना २५ करोडको लागतमा सडक निर्माण हुनेछन्। सो सडक निर्माण थालेपछि त्यहाँका स्थानीय खुसी भएका छन्। साथै उनीहरूले तोकिएको समयमै गुणस्तरीय तरिकाले सडक निर्माणकार्य सम्पन्न हुनुपर्ने माग गरेका छन्।