म्याग्दी। म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिकामा ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण गरिएको छ। धौलागिरि–६ मराङको अस्कारे खोलामा ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण गरिएको हो।
पुलको बिहीबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले शुभारम्भ गरेका छन्। शुभारम्भ कार्यक्रममा अध्यक्ष पुनले स्थानीयवासीलाई सुरक्षितरूपमा आवतजावत गर्न पुलले सुविधा पुर्याएको बताए।
पुल निर्माण भएपछि वडाका सात सय घरधुरी लाभान्वित भएका छन्। धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो।
टिबिएसयुको प्राविधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको सो पुलबाट धौलागिरिको मल्कवाङ, मराङ, आरवाङ, हाङवाङ, औसीवाङ, भेडीखाल्टा र रघुगङ्गाको कुइनेका सात सय घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ।