दाङ। हिउँदे वर्षाका कारण करोडौँ मूल्य बराबरको काँचो इँटा नष्ट भएको छ। इँटाभट्टामा पोल्न तयार पारिएको काँचो इँटामा मंगलबार र बुधबारको हिउँदे वर्षाले क्षति पुर्याएको हो।
दुई दिन परेको पानीले तयार गरिएको काँचो इँटामध्ये ६० प्रतिशत नष्ट गरेको दाङ देउखुरी इँटा व्यवसायी समितिले जनाएको छ। समितिका अनुसार भट्टीमा पोल्नका लागि तयार पारिएको करिब सवा २ करोड काँचो इँटा मध्ये एक करोड ८० लाख इँटामा क्षति भएको छ।
बैंकबाट ऋण लिएर तयार गरिएको करोडौँको इँटा नष्ट हुँदा व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेका छन्।
विकास निर्माणका काममा प्रत्यक्ष रुपमा जोडिने इँटाको काँचो अवस्थामा सरकारले बीमा नगरिदिँदा इँटा व्यवसायीहरु वर्षेनी आर्थिक मारमा पर्ने गरेका छन्।