काठमाडौं। निर्माणाधीन थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत काठमाडौंको बलम्बुमा प्रस्ताव गरिएको ‘फ्लाइओभर’ निर्माणको काम अगाडि बढ्ने सुनिश्चित भएको छ। सो ‘फ्लाइओभर’ को जग्गा अधिग्रहणका लागि मुआब्जा रकम दिन अर्थ मन्त्रालयबाट निकासा भएको हुनाले निर्माण कार्य अगाडि बढ्ने सुनिश्चित भएको हो।
मुआब्जा रकमको अभावमा फ्लाइओभर निर्माण कार्य रोकिएको बलम्बु ‘फ्लाइओभर’ को मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयबाट ३० करोड रुपियाँ रकमान्तर भई आयोजनाका खातामा आइसकेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ।
मुआब्जा वितरण प्रक्रिया सुरु भइसकेको आयोजना प्रमुखले जानकारी दिएका छन्। यसैगरी फ्लाइओभरको रेखाङ्कनमा परेका घर जग्गा धनीले मुआब्जाका लागि आयोजनामा धमाधाम निवेदन दिइरहेको र आजदेखि नै रकम वितरण कार्य सुरु गरिने जनाइएको छ।। साथै कुल मुआब्जा रकम १ अर्ब १४ करोड रुपियाँ वितरण गर्नुपर्ने भएपनि हाल आएको रकमबाट वितरण कार्य सुरु गर्ने र बाँकी रकम अर्को हप्तासम्म आइपुग्ने आयोजनाले जानकारी दिएको छ।
डिजाइन तयार भइसकेको उक्त फ्लाइओभरको चौडाइ २ र लम्बाइ १२८ मिटर लामो हुनेछ। एउटा लेन ३.५ मिटरको हुनेछ। उक्त फ्लाइओभरबाट करिब तीन कि.मि. पहुँच मार्गमार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिनेछ। सुरुङमार्ग निर्माण गरिरहेका हाज्मा–आन्दो कर्पोरेसन लिमिटेड, जापानले नै बलम्बुको फ्लाइओभर निर्माण गर्ने भएको छ।