काठमाडौं। बाँकेको परसपुर–गौघाट सडक कालोपत्र हुने भएको छ। खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने उक्त सडक स्तरोन्नतिका लागि बोलपत्र भइसकेको डिभिजन सडक कार्यालय नेपालगञ्जले जानकारी दिएको छ।
उक्त खण्डको १० किलोमिटर नालीसहित कालोपत्रका लागि बोलपत्र भइसकेको छ। २५ करोड लागतमा बहुवर्षीय योजना अन्तर्गत सो सडक कालोपत्रे हुने भएको छ। निर्माण कम्पनीसँग सम्झौता भएको मितिले सडक निर्माणको समयावधि २८ महिना निर्धारण गरिएको छ। वन क्षेत्र र अन्य कुनै अवरोध नभएकाले निर्धारित समयमै सडक निर्माण हुने जनाइएको छ।
यसैगरी परसपुर–र्गाघाट सडक विस्तारका लागि पक्की सडक भत्काइएका कारण वर्षात्मा हिलाम्मे भएका सर्वसाधारण हाल धुलाम्ये हुने गरेका छन्। जिल्लाको जानकी र खजुरा गाउँपालिकाका सर्वसाधारण सदरमुकाम नेपालगञ्ज आवतजावतमा सास्ती झेल्न बाध्य छन्।
हाल नेपालगञ्ज उपमहानगरपालिकाको परसपुरबाट, जानकीको बेलभार, खजुराको गौघाट, बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं १ र २ हुँदै कण्ठीपुरबाट गुलरियालाई जोड्ने २२ किलोमिटर सडक निर्माण गर्न पहल भैरहेको जनाइएको छ।