झापा। मेची नदीको तटीय क्षेत्रमा तटबन्ध गर्ने काममा भारतीय एसएसबीले अवरोध गरेको छ। भारतीय एसएसबीले अवरोध गरेपछि एक दिन काम रोकिएको हो।
गत साउनमा मेचीमा आएको बाढीले कचनकवल गाउँपालिका–५ पाठामारीस्थित ११२ नम्बर सीमा पिलर बगाउनुका साथै तटीय क्षेत्र कटान गरेको थियो। तटीय क्षेत्र कटान हुँदा नदी किनारको बस्ती उच्च जोखिममा परेको छ।
पाठामारी बस्तीसँगै नेपाली भूभाग जोगाउन कचनकवल गाउँपालिकाले ८ लाख रूपैयाँ विनियोजन गरी ढुङ्गा र तार जालीको तटबन्ध बनाउन शुरु गरेको छ। निर्माण कार्य शुरु हुनासाथ भारतीय एसएसबीको १९ बटालियन टोली आएर शुक्रबार काम रोक्न लगायो।
एसएसबीले तटबन्ध निर्माणमा अवरोध सिर्जना गरेपछि उपभोक्ता समितिले तत्काल गाउँपालिकासहित स्थानीय प्रहरीलाई जानकारी गराएको थियो।
शनिबार बिहान एसएसबी १९ बटालियनका इन्स्पेक्टर सोरियासहितको टोली निर्माणस्थल आइपुगेको थियो। दुवै टोलीबीच त्यस विषयमा छलफल भएपछि एसएसबीले जिपिएस ट्र्याकिङ गरी बगाएको ११२ नम्बर पिलरको स्थान पहिचान गर्यो र
सीमा पिलरदेखि ३० मिटर छाड्नुपर्ने नेपाल–भारतबीचको सम्झौताअनुसार जिपिएसले ५० मिटर छाडेको देखाएपछि एसएसबीले तटबन्धको काम गर्नु भन्दै फर्किएको थियो।