झापा। पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा लगतै सञ्चालनमा आउन नसक्ने भएको छ।
राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला वटा नदीमा पुल निर्माणाधीन अवस्थामा रहेका छन्। तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले जनाएको छ।
विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण सुरु गरिएको थियो तर, एक दशक बितिसक्दासमेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो। मुलुकको राजनीतिक अस्थिरता र कोरोना महामारीलगायतका कारणले पुल निर्माणमा ढिलाई भएको बताइएको छ।। आर्थिक वर्ष विसं २०७९।०८० को अन्त्यसम्ममा सडकभित्र रहेका सबै पुल निर्माण भइसक्ने गरी काम भइरहेको छ।