काठमाडौं। हुलाकी सडक अन्तर्गत भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्म करिब ४८ मध्ये ३५ किलोमिटर कालोपत्रेसहितको सडक निर्माण सकिएको छ।
अब राजगढको जनता बजारदेखि कनकाई पुल छेउको कुञ्जिबारीसम्मको १३ किलोमिटर सडक मात्र कालोपत्रे हुन बाँकी रहेको हुलाकी राजमार्ग योजना कार्यालयले जानकारी दिएको छ। चालु आर्थिक वर्षको अत्यसम्ममा झापा खण्डमा रहेको ४८ किलोमिटर नै सडक निर्माण सम्पन्न हुने कार्यलयले जनाएको छ।
उक्त सडक दुई लेनमा बनिरहेको छ। मेचीपुलदेखि राजगढको जनताबजारसम्मको २० किमी सडकको आशिष याक्थुमहाङ जेभी र जनताबजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभी निर्माण कम्पनीले ठेक्का पाएका छन्।
यसैगरी हुलाकी सडक अन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। उक्त खण्डको ४० किलोमिटर सडकमध्ये ३९ किलोमिटर सडकको निर्माण सकिएको छ।