काठमाडौं। बुटवलमा मन्त्रालयकै प्रवेशद्धार खाल्डैखाल्डोले भरिपुर्ण भएको छ। विस्तारको ठेक्का लागेर सयममै काम नभएपछि बुटवल बजारभित्रको मुख्य सडकको बेहाल भएको हो।
राजमार्ग चौराहचोकदेखि गोलपार्कको चिडियाचौकीसम्म सडकको अवस्था हेरिनसक्नु भएको छ। वर्षाको समयमा हिलाम्मे भएको सडक अहिले धुलाम्य भएको छ। सडकको दुर्दशाले बुटवलबासीलाई मात्रै नभएर, बुटवलका विकासे मन्त्रालयहरु भौतिक पूर्वाधार विकास मन्त्रालय र पर्यटन मन्त्रालयसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यालयहरु पनि सडक विस्तारमा भएको ढिलाइका कारण समस्यामा छन्।
छिटो निर्माणको लागि पहल गर्नुपर्ने निकायहरुकै अघि सडकमा ठूला–ठूला खाल्डा छन्। २०७४ साल चैतमा ६ लेन सडक निर्माण गर्न ठेक्का लागेको उक्त सडक अहिलेसम्म बिस्तार हुन सकेको छैन। विभिन्न अस्पतालहरु समेत रहेको सो सडक खण्डमा बिरामी भएर जाने मात्रै हैन, स्थानीय रुपमा व्यवसाय गर्नेहरु पनि धुलो हिलोको समस्याले ग्रस्त बनेका छन्।
२०७६ असोजमै सम्पन्न हुनुपर्नेकाम अहिलेसम्म अलपत्र बनेको छ। ठेकेदार कम्पनी द कञ्चनजंगा बिरूवा जेभीले अझै एक वर्ष समय लाग्ने बताउँदै आएको सडक विभागका अधिकारीहरु बताउँछन्। करिब ४८ करोडमा ठेक्का लागेको उक्त सडक समयमै निर्माण नहुँदा धेरैले समस्या भोग्दै आउनु परेको छ।