काठमाडौं। काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा ११ किलोमिटर ट्रयाक खोल्न बाँकि रहेको छ। राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम समयमै सकीने गरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको हो।
मंगलबार बसेको समितिको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिटर फाष्ट ट्रयाक खोल्न नै बाँकी रहेको देखिएको र पुल निर्माणको काम समेत सुरु नभएको पाइएकाले सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ। तोकिएको समयमा काम सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आउनु परेको छ।
नेपाल सरकारको लक्ष्य अनुसारआ.व. २०८०।८१ सम्ममा काम सम्पन्न हुनुपर्ने भएतापनी काम सम्पन्न हुने दुविधा देखिएको समितिले जनाएको छ।
तोकिएकै समयअवधीमा काम सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन, वन सम्बन्धी कामहरु र आवश्यक स्वीकृति दिनुपर्ने विषयमा सरकारका सम्बन्धित मन्त्रालयहरुलाई आगामी समिति बैठकमा बोलाएर आवश्यकता अनुसार निर्देशन दिइने समितिले बताएको छ।