काठमाडौं। काठमाडौं तराई/मधेश द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले चालू आर्थिक वर्षमा थप ९ अर्ब ४० करोड रुपैयाँ बजेट माग गरेको छ। कामलाई तीब्रता दिन भन्दै सेनाले थप बजेट माग गरेको हो।
चालू आर्थिक वर्षका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्टिएकोमा कामलाई तिब्रता दिएर समयमै काम सम्पन्न गर्न थप बजेट माग गरेको सेनाले जनाएको छ। खर्च पुनरावलोकन गरेर थप माग गर्दै रक्षा मन्त्रालयमा पत्र पठाइएको बताइएको छ।
सेनाले यसअघि थप २३ अर्ब रुपैयाँ माग गरेको थियो। सैनिक स्रोतका अनुसार सार्वजनिक खरिद ऐन र नियमावलीका कारण ठेक्का प्रक्रियामा समय लाग्ने भएपछि सबै खर्च गर्न सम्भव नहुने निष्कर्षसहित रकम घटाएर नयाँ प्रस्ताव पठाइएको हो।
अहिलेसम्म द्रुतमार्गमा १६.१० प्रतिशत प्रगति भएको छ। यो आर्थिक वर्षको अन्त्यमा २१.२० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ। फास्ट ट्याकमा महादेवटार, धेद्रे र लेन डाँडामा गरी ६.४ किलोमिटर सुरुङमार्ग बन्नेछ। द्रूतमार्गमा विशेष प्रकृतिका १६ र अन्य ७१ वटा गरी ८७ वटा पुल पनि निर्माण हुनेछन्।