काठमाडौं। जुम्लामा सडक अतिक्रमण गरी निर्माण गरेका भौतिक संरचनाका घरटहरा र पर्खाल भत्काउन थालिएको छ। चन्दननाथ नगरपालिका, सडक डिभिजन कार्यालय जुम्ला, प्रहरी प्रशासनको समन्वयमा सडक अतिक्रमण गरी निर्माण गरिएको घर टहरा भत्काइन थालेको हो।
कर्णाली राजमार्ग अन्तर्गत चन्दननाथ नगरपालिका वडा नम्बर ६ पुरानो बसपार्क क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा, सडकमा जथाभावी निर्माण सामग्री फाल्दा दुर्घटनाको जोखिम बढ्दै गएको थियो। सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गमा चौडाइ दायाँबायाँ गरी १५ मिटर क्षेत्रफल छुट्याएको छ। चन्ददननाथमा १५ मिटर सडक चौडाइ अतिक्रमण गरी घर टहरा निर्माण गरिएका छन्।
यसले गर्दा सडक साँघुरो हुँदै गएको र सवारी दुर्घटना पनि बढन थालेपछि सरोकारवाला निकायको समन्वयमा घरटहरा भत्काउन थालिएको हो। सडक दुर्घटनाको जोखिलाई कम गर्नका लागि घर टहरा भत्काउन लागेको सशस्त्र प्रहरी बल जुम्लाले जानकारी दिएको छ।
यसअघि सडक डिभिजन कार्यालय र चन्दननाथ नगरपालिकामार्फत घरटहरा हटाउन सूचना जारी गरिएको भएपनि स्थानीयले अटेर गरेर घरटहरा नहटाएपछि कार्यलय आफैले डोजर लगाएरै हटाउनुपरेको हो। हाल घरटहरा हटाउन स्थानीयसँग समन्वय भइरहेको पनि कार्यलयले जनाएको छ।