रसुवा। मंगलबारदेखि बन्द स्याफ्रुबेँसी–रसुवागढी खण्डको सुक्खा पहिरो पन्छाउन थालिएको छ। सुक्खा पहिराले सडक अवरुद्व भएपछि स्थानीय प्रशासनको सहयोगमा त्यो हटाउन थालिएको हो।
पहिरो पन्छाउन आज बिहानदेखि स्काभेटर प्रयोग गरिएको छ। पहिरो पन्छाउन डिभिजन सडक कार्यालय र जलविद्युत् आयोजनाको स्काभेटर प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए। पैदलमार्गीलाई पहिरोस्थलमा सुरक्षितरुपमा ओहोरदोहोर गराउन सुरक्षाकर्मी परिचालन गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख गणेश सापकोटाले जानकारी दिए।
ठाडो भिर क्षेत्रमा अवस्थित राजमार्गको अवरोध हटाउन संयमता अपनाउनुपर्ने भएकाले पहिरो पन्छाउन कम्तीमा दुई दिन लाग्ने प्राविधिकको अनुमान छ।