काठमाण्डौं। शुक्लाफाँटा नगरपालिका–४ मा सडक कालोपत्रका लागि ठेक्का भएको दुई वर्ष बितिसक्दा पनि काम अगाडि बढ्न सकेको छैन। इलाका प्रहरी कार्यालय हुँदै दक्षिण असैनातर्फ जाने सडक कालोपत्रका लागि आव ०७६।७७ मा ठेक्का सम्झौता भएको थियो।
उक्त सडकको ठेक्का ५३ लाखमा राखी कन्स्ट्रक्सन प्रालिले लिएको थियो। सम्झौता भएको एक वर्षभित्रै एक किलोमिटर सडक कालोपत्र गरिसक्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीले निर्माण अगाडि नबढाएको नगरपालिकाले जनाएको छ।
निर्माण कम्पनीले दिएको निवेदनअनुसार निर्माण अगाडि बढाउनका लागि गत कात्तिक १६ गते बसेको नगर कार्यपालिकको ११६औँ बैठकले बैंक ग्यारेन्टीको म्याद थप गर्दा समेत कार्य अगाडि नबढाइएको हो।
निर्माण व्यवसायीले कोरोना र वर्षाका कारणा देखाउँदै निर्माणमा ढिलासुस्ती गर्दै आएको छ। निर्माणको जिम्मा पाएको राखी कन्सट्रक्सनका सञ्चालक चन्द्रसिंह कार्कीले बजेटका अभावले निर्माणमा विलम्ब भए पनि चालू आवमा नगरपालिकाले बजेट विनियोजन गरेकाले चाँडै कालोपत्र सुरु गर्ने जानकारी दिए।