काठमाडौं। विराटनगर नाकाबाट ४ किलोमिटर दक्षिणमा पर्ने मीरगञ्ज पुल अचानक भास्सिएको छ। यसअघि २०७४ साउन २९ मा क्षतिग्रस्त भएपछि मर्मत गरिएको उक्त पुल बिहीबार दोस्रो पटक भास्सिएको हो।
उक्त पुलको बीच भागको पश्चिम किनारमा १ फिट भास्सिएको बताइएको छ। भारतीय प्रहरीले बिहीबार दिउँसो २ बजे पुल भास्सिएको पत्ता लगाएपछि उक्त पुल हुँदै आवतजावत गर्ने सम्पुर्ण ठूला सवारी साधनको आवागमन ठप्प पारेको थियो।
यसअघि २०७४ सालमा पुल क्षतिग्रस्त हुँदा विराटनगर नाकाबाट हुने निकासीपैठारी सुनसरीको सेतुबन्ध भन्सार नाका हुँदै गरिएको थियो।
पूर्वका व्यवसायीले पुलबाट आवागमन पुनः सुरु नहुन्जेल सरकारले भारत सरकारसित पहल गरेर सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाट निकासी–पैठारी खोल्नुपर्ने माग गरेका छन्। उक्त पुल तत्काल प्रयोगमा ल्याउन सकिने लक्षण नदेखिएपछी भीमनगर–सेतुबन्ध नाका खोल्न माग गरीएको हो।