काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार गर्न निर्देशन दिएका छन्।
आन्तरिकतर्फको विमानस्थलमा कोरोना जोखिमलाई मध्यनजर गर्दै आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न मन्त्री आलेले निर्देशन दिएका हुन्।
भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण गर्दै उनले भने, ‘ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस्।’
मन्त्रीको निर्देशनपछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ।
यसैगरी विमानस्थलमा एकमात्र ‘कन्भेयर बेल्ट’ भएको र थप दुईवटा नयाँ किनेर अब तीन वटा सञ्चालन गर्न समेत निर्देशन दिइएको छ।