काठमाडौं। नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया सुरु गरेको छ। सरकारले पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो। सडक विभागले ती सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र मागेको छ।
प्रस्तावित प्रत्यक सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि ५०।५० लाख रुपियाँ खर्च गरिने जनाइएको छ। अबको तीन महिनाभित्र कम्पनी छनोट गरिने र छनोट कम्पनीले चार महिनाभित्र सम्भाव्यता अध्ययन गरी सडक विभागलाई प्रतिवेदन बुझाउने छन्। त्यसपछि विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढाइने भएको छ।