दाङ। राप्ती राजमार्ग कपुरकोट–चोरखोला सडकखण्डको स्तरोन्नतिमा ढिलासुस्ती गरिएको छ। एक वर्षमा पूरा गर्ने सम्झौता भएको विस्तार कार्य थप ६ महिना म्याद थप गर्दा पनि हालसम्म ६० प्रतिशत मात्र काम भएको हो।
सडक डिभिजन कार्यालय दाङले २०७७ साउनमा श्याम–शंकर जेभीलाई एक वर्षमा काम सक्नेगरी ठेक्का दिएको थियो।
करिब १० करोड रुपैयाँमा सडक स्तरोन्नतिको जिम्मा पाएको कम्पनीको लापरबाहीले हाल फेरि ६ महिना म्याद थपे पनि काम सकिने छाटकाट नदेखिएको स्थानीयको गुनासो छ। सडक विस्तार कार्य ढिलाइका कारण यात्रुले सास्ती भोग्दै आएका छन् ।
अहिले कपुरकोटदेखि चोरखोलासम्मको आठ किलोमिटर सडकमा स्तरोन्नतिको काम चलिरहेको छ। सडक स्तरोन्नतिका लागि स्थानीय प्रशासनले दैनिक आठ घन्टा यातायात बन्द गरे पनि ठेकेदार कम्पनीले खासै काम गरेको देखिएको छैन।