काठमाण्डौं। ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ। स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न सुरु गरिएको हो।
विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो। बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारीदिए।
उनले भने , “सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ।” पाँच दशमलव पाँच मिटर सडक, एक दशमलव एक मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ। उक्त काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ। पहिलो चरणको काम आगामी असारसम्म सकिने छ।
आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्ने गरी गत असारमा सम्झौता गरेको हो। उक्त कार्यका लागि कूल ५२ करोड ९६ लाख खर्च हुने जनाइएको छ।