काठमाडौं। हेटौंडा–भीमफेदी–काठमाडौं छोटो दूरीको मार्ग अन्तर्गतको भैँसेदेखि भीमफेदीसम्मको सडकको स्तरोन्नतिको निर्माण कार्य ढिला भएको छ। शिलान्यास भएको करिव साढे एक वर्षसम्म पनि उक्त सडक स्तरोन्नतिले तिव्रता पाउन नसकेको हो।
ठेक्का सम्झौता भएको समय सकिन ६ महिना मात्र बाकी रहदा भौतीक प्रगती १५ प्रतिशत रहेको छ। निर्माण कम्पनी विभिन्न बहाना गर्दै ठेक्का लम्ब्याउने पक्षमा लागेको छ भने निर्माणको रेखदेख लगायतको काम गरिरहेको प्रदेश यातायात पूर्वाधार विकास निर्देशनालय हेटौंडा ठेक्का अवधि थप गर्ने तयारीमा छ।
अहिले उक्त सडक फराकिलो पार्ने, पर्खाल लगाउनेजस्ता कार्य भइरहेको छ। बागमती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उक्त सडक स्तरोन्नतिका लागि निर्माण कार्यको शिलान्यास गरेका थिए। कुल ३८ करोड ७८ लाख ८९७ रुपैयाँ लागतमा सडक स्तरोन्नति कार्यको ठेक्का सम्झौता गरिएको थियो।
स्तरोन्नतिका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको प्रदेश यातायात पूर्वाधार कार्यालयले निर्माण कम्पनी आशिषरडिएस जेभीसँग ठेक्का सम्झौता गरेको थियो।
राणाकालमा काठमाडौंबाट चित्लाङ हुँदै भीमफेदी भएर तराई आउने मूलबाटोको रुपमा रहेको करिब ११ दशमलब ५ किलोमिटर लम्बाइको सो सडकलाई १० मिटर फराकिलो बनाउने उद्देश्य अनुसार काम सुरु गरिएको थियो।
निर्माण कम्पनीले सो सडक चौडा पार्ने, नाला निर्माण गर्ने, तारजाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गरेर हस्तान्तरण गर्नुपर्ने प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ।