वीरगञ्ज। पर्साको धोबिनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा निर्माणाधीन झोलुङ्गे पुल अलपत्र परेको छ। उक्त झोलुङ्गे पुल तिन वर्षदेखि अलपत्र परेको हो।
उक्त गाउँपालिकाका अनुसार पुल निर्माणका लागि उपभोक्ता समितिको नाउँमा अहिलेसम्म लगभग ५२ लाख ९९ हजार पेस्की रकम लिइए पनि कार्यस्थलमा खासै काम भएको छैन। उपभोक्ता समितिले पुल निर्माणका लागि तीन वर्षअगाडि नै गाउँपालिकाबाट पटकपटक गरी ५२ लाख ९९ हजार पेस्की लिएको भए पनि निर्माणस्थलमा बढीमा १० प्रतिशत पनि काम हुन नसकेको गाउँपालिकाले जनाएको छ।
अहिलेसम्म दुईवटा अधुरा पिलर निर्माण गरेर पुल निर्माण कार्य रोकिएको थियो। पुल निर्माणका लागि उपभोक्ता समितिले ठूलो रकम पेस्कीस्वरुप लिइएको भए पनि सो रकम त्यस कार्यमा खर्च गरिएको छैन, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले भने,अब अनुसन्धान गरी नियमानुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा तीन महिनाभित्र पुल बनाउन गाउँपालिका र समितिबीच सम्झौता भएको थियो। गाउँपालिकाका अनुसार कूल बजेट ९५ लाख ९७ हजारमध्येबाट हालसम्म ५२ लाख ९९ हजार पेस्की उपभोक्ता समितिले लिएको भएपनि करिब पाँच।सात प्रतिशत मात्र खर्च भएको छ।
ओरिया खोलामा पुल नहुँदा घोरदाउराका बासिन्दा बर्सातको समयमा भारतको बाटो प्रयोग गरी नेपालीबजार पुग्नुपर्ने बाध्यता रहँदै आएको छ। पुल निर्माण सुरु भएपश्चात् स्थानीयवासीमा आशा पलाए पनि अलपत्र हुँदा उनीहरु निरास बनेका छन्।