काठमाडौं। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएको छ। बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो।
गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै घुमाउने ताल पुगेर बेनी–जोमसोम सडकमा निस्कन पूरै एक घण्टा लाग्ने गरेको थियो, रिसिन चौतारीदेखि बैसरीको हाइवेमा झरेर बेनी पुग्दा करिब ४० मिनेटको समय बचत हुने स्थानीयले बताए।
रघुगङ्गा गाउँपालिका र सङ्घीय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु २५ लाख बजेटबाट गत आर्थिक वर्षमा मार्ग खोलिएको बैसरी–रिसिन चौतारी सडक मर्मत र स्तरोन्नतिपछि हालैदेखि यातायातका साधन चल्न सुरु गरेका छन्।
कृषि र पशुजन्य उपज निकासीका साथै निर्माण र दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको छ। बिरामीलाई अस्पताल लैजान पनी सहज भएको छ। यस सडकबाट कालीगण्डकीको बगरबाट घर, भवन, सडक, सिँचाइ, खानेपानीलगायत विकास आयोजनाका लागि भगवतीमा निर्माण सामग्री ढुवानी गर्नसमेत सुविधा पुगेको छ।