काठमाडौं। सिन्धुली जिल्लामा नौवटा पालिकाका सबै वडा सडक सञ्जालमा जोडिएका छन्। जिल्लाका दुर्गम क्षेत्रमा रहेको तीनपाटन, घ्याङलेख, हरिहरपुरगढी र फिक्कल गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएका हुन्।
नौवटा स्थानीय तहका ७९ वडामा सडक पुगेको छ। तीनपाटन गाउँपालिकाका सबै ११ वटै वडा सडक सञ्जालले जोडिएका छन्।। जिल्ला सदरमुकाम सिन्धुलीमाढीदेखि पालिकाको केन्द्र रहेको चकमकेसम्मको ४२ किलोमिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने कार्य भइरहेको छ।
स्थानीय सरकार बनेपछि सबै वडामा सडक पुगेका छन्। दुधौली नगरपालिकाका १४ वटै वडामा सडक पुगेको र मदन भण्डारी राजमार्गसँग धेरै वडा जोडिएको छ।
कमलामाई नगरपालिका र बागमती प्रदेश सरकारको समपूरक बजेटअन्तर्गत एक करोड रुपियाँको लागतमा सडक निर्माण भइरहेको छ। वडावडामा निर्माण भइरहेका सडकका कारण स्थानीय किसानलाई उत्पादन बेचबिखनमा समेत निकै सजिलो भएको छ।