काठमाडौं। सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएपछि स्थानीयवासीका साथै खुम्बु क्षेत्रमा आउने विदेशी पर्यटकका लागि सहज भएको हो।
स्थानीयका अनुसार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बीचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल निर्माण भएपछि खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको छ।
उक्त मोटरेबल पुल बनेपछि खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्याँसको मूल्य २३ सयबाट घटेर १९ सयमा आएको जनाइएको छ। यस्तै, ७०० रुपैयाँ पर्ने एक क्यारेट अण्डा अहिले ३०० रुपैयाँमा पाउँन थालेको भन्दै स्थानीयले खुसि व्यक्त गरे।
उक्त पुलको निर्माण पछि आवतजावत गर्न निकै सहज भएको स्थानीयले बताए। पुलको निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकका लागि पनी सहज भएको छ।
खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयबासीको भनाइ छ।