काठमाडौं। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ को घोर्थली हुँदै दोलखाको प्रसिद्ध तीर्थस्थल कालिञ्चोक मन्दिर जोड्ने गरी ३० किलोमिटर सडक निर्माण भएको छ। प्रदेश सरकारको ४० लाख बजेटमा सडक निर्माण भएको हो।
पुस पहिलो साता सडकको ट्रयाक दोलखा र त्रिपुरासुन्दरीको सीमाभेगमा पुर्याइएको भए पनि कुरी बजारका केही स्थानीयको विरोधपछि काम रोकिएको थियो। आइतबार सडक निर्माण सम्पन्न भएको हो। सडक जोडिएपछि उक्त स्थानका स्थानीय खुसी भएका छन्। सो सडकले पर्यटकिय प्रवद्धनमा ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ।
जिल्लाकै चर्चित मन्दिर लट्टेश्वर महादेव, पिस्कर गाउँ, सहिद इलेविरे थामीको सालिकस्थल, थामी संग्रहालयजस्ता महत्त्वपूर्ण स्थानसँग कालिञ्चोक जोड्ने योजना रहेको त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ। उक्त सडकबाट अनेक तीर्थस्थल र पर्यटकीय स्थान हुँदै कालिञ्चोक मन्दिर पुग्न सकिन्छ।