सिन्धुली। सडक संघर्ष समितिले मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमाडीको धुराबजार–खट्टार सडक निर्माणको काम मंगलबारदेखि अनिश्चितकालका लागि ठप्प पारेको छ। काम बन्द हुँदा सडकको चौडाइ, रिटेनिङ्ग वाल, नाला लगायत काम रोकिएको हो।
माग पूरा नभएको भन्दै घर तथा जग्गाधनीहरूको सडक संघर्ष समितिले चेतावनीसहित सोमबार ब्यानर राखेर निर्माणस्थलमा प्रदर्शन गरेका थिए। समितिले ११ मिटर सडक कायम गरी बाँकी घर तथा जग्गा सरकारी कामकाजका लागि मिल्ने गरी फुक्का गर्नुपर्ने, मदन भण्डारी राजमार्गको यो खण्डलाई मन्त्रिपरिषद्बाट वैकल्पिक सडक कायम गर्नुपर्ने, मागबमोजिमको चौडाइ कायम गरी राजपत्रमा प्रकाशित गर्नुपर्ने, सहरी सडक बनाउनुपर्ने, नागरिक हकअधिकार सुनिश्चित हुनुपर्ने लगायतका माग राखेका छन्।
सहरी सडकको मापदण्ड घोषणा नै नगरी काम सुरु हुनाले घर तथा जग्गाधनीहरू सुकुम्बासी हुने भएकाले निकासका लागि सडक निर्माणको काम रोकिएको संघर्ष समितिले जनाएको छ।
मदन भण्डारी राजमार्गको धुराबजार पुछारदेखि धुराफाँट, मिलनचोक,लव्दाह, शिवालय, साङबाले हुँदै खट्टारसम्मको सडकलाई सहरी सडकको मापदण्डमा लैजान वा राजमार्गकै मापदण्ड कायम गरी घर तथा जग्गाको उचित मुआब्जा दिनुपर्ने संघर्ष समितिले जनाएको छ।